आफ्नै अडानमा टिक्न सकेन आयोग

आफ्नै अडानमा टिक्न सकेन आयोग

काठमाडौं : राजनीतिक दलहरूको दबाव थेग्न नसकेपछि निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरूलाई देशव्यापी निर्वाचन प्रचारप्रसारमा हिड्न अनुमति दिने भएको छ।

आयोगले निर्वाचन आचारसंहिता संशोधन गरेर बन्देजात्मक व्यवस्था हटाएको हो। आचारसंहिताको दफा ५ मा प्रधानमन्त्रीदेखि मन्त्रीहरू र संघीय कार्यपालिकाका सबै सदस्यहरू आफू उम्मेदवार भएको ठाँउ बाहेक अन्यत्र प्रचारप्रसारमा जान नहुने व्यवस्था थियो ।

यो व्यवस्थाका कारण सत्तामा रहेका प्रभावशाली नेताहरू केवल आफू उम्मेदवार भएको क्षेत्रमा मात्रै सीमित हुन पाउँथे। निर्वाचन आचार संहिताको यो व्यवस्थाको सत्ता गठबन्धनका साथै प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले समेत विरोध गरेका थिए।

दलहरूको विरोधपछि आयोगले आचारसंहिता संशोधन गरेर प्रधानमन्त्री तथा मन्त्रीहरू प्रचारप्रसारमा जानसक्ने व्यवस्था थपेको हो। त्यसका लागि उनीहरूले निर्वाचन आयोगबाट पहिले अनुमति लिनुपर्नेछ।

असोज २१, २०७९ शुक्रबार १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।