नारायणी र भेरी नदीले खतराको तह पार गरे, तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

नारायणी र भेरी नदीले खतराको तह पार गरे, तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं : निरन्तर वर्षाका कारण नारायणी र भेरी नदीले खतराको तह पार गरेको छ।

बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेका छन्।

भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ।

भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ। खतराको विन्दु भनेको पाँच मिटर हो। तर, अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.२३ मिटर पुगेको छ।

अहिले वर्षा भइरहेकाले आगामी ६ घण्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ। भेरीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायत बस्ती जोखिममा छन्।

यस्तै, विहान घट्दो अवस्थामा रहेको नारायणीले ११ः५५ बजेको समयमा खतराको तह पार गरेको हो। देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ।

यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ। नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ। यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ। नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।

असोज २१, २०७९ शुक्रबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।