जसपा र राप्रपासँग आज एमालेको निर्णायक वार्ता, अलमलमा गठबन्धन

जसपा र राप्रपासँग आज एमालेको निर्णायक वार्ता, अलमलमा गठबन्धन

काठमाडौं : पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारीमा रहेको जनता समाजवादी पार्टी र गठबन्धनमा नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आज एमालेले चुनावी तालमेलको निर्णायक छलफल गर्दैछ।

४ देखि ६ सिट बढाउन जसपा गठबन्धनभन्दा एमालेसँग तालमेल गर्न सकारात्मक देखिएको छ। गठबन्धनले १६ सिट मात्र दिने भएपछि एमालेले २०-२२ सम्म सहमतिको प्रयास गरिरहेको छ।

प्रदेशमा बहुमत पुग्ने गरी सिट दिन एमाले राजी भएपछि उपेन्द्र यादव आफैँ एमालेसँग छलफलमा छन्।

उता राप्रपाले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई साथ दिए पनि प्रतिनिधि सभा र प्रदेशमा भने एमालेसँग क्षेत्रगत तालमेलको तयारीमा छ। त्यसका लागि आजै एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन छलफलमा बस्दैछन्।

उता, जसपा एमालेसँग नजिकिएपछि गठबन्धनका नेताहरू भने अलमलमा छन्। जसपा एमालेसँग मिले यता १६ सिट चार दलबीच बाँड्नुपर्ने, विकल्पमा लोसपासँग तालमेल हुनसक्ने भएकाले उनीहरू एमाले-जसपाबीच हुने सिट बाँडफाँडको निर्णय कुरेर बसेका छन्।

असोज २१, २०७९ शुक्रबार १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।