मेरा लागि कतार विश्वकप अन्तिम विश्वकप हुनेछ : लियोनल मेसी

मेरा लागि कतार विश्वकप अन्तिम विश्वकप हुनेछ : लियोनल मेसी

एजेन्सी : अजेन्टिनाका चर्चित फुटबलर लियोनल मेसीले नोभेम्बरमा कतारमा हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने बताएका छन्।

३५ वर्षीय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेल्दा ६ गोल गरेका छन् भने पाँच गोलमा सहयोगी भूमिका खेलेका छन्।

ईएसपीएनसँग शुक्रबार भएको विशेष अन्तर्वार्तामा उनले भनेका छन्, ‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो।’

सन् २०१४ को विश्वकपमा उप–विजेतामै चित्त बुझाएका मेसीले सन् २०२१ मा आफ्नै नेतृत्वमा कोपा अमेरिका जितेका थिए। 

मेसीले सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए र अहिलेसम्म अर्जेन्टिनाका लागि मात्रै १ सय ६४ खेलमा ९० गोल गरेका छन्।

पाँचौं विश्वकप खेल्ने क्रममा उनले अर्जेन्टिनाका लागि यसअघि डिएगो म्याराडोना र ज्याभिएर मास्कारानोको नाममा रहेको कीर्तिमान उछिन्ने छन्।

फिफा वरीयतामा अर्जेन्टिना अहिले पाँचौं स्थानमा छ र अबको विश्वकपमा उसले समूह ‘सी’ मा साउदी अरेबिया, मेक्सिको र पोल्यान्डको सामना गर्नेछ।

असोज २१, २०७९ शुक्रबार ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।