पार्टीभित्र ४० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसको संस्थापन इतर पक्षको माग, शेखर र गगनको भूमिकाप्रति नै असन्तुष्टि 

पार्टीभित्र ४० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसको संस्थापन इतर पक्षको माग, शेखर र गगनको भूमिकाप्रति नै असन्तुष्टि 

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर डा.शेखर कोइराला समूहले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४० प्रतिशत सिट पाउनुपर्ने निष्कर्ष निकालेको छ।

शेखर समूहका शीर्ष नेताको उपस्थितिविना काठमाडौंमा बसेको उक्त समूहको भेलाले प्रत्यक्षतर्फ ४० प्रतिशत सिट पाउनुपर्ने निष्कर्ष निकालेको हो। समानुपातिक उम्मेदवार छनोटमा जस्तो संस्थापन पक्षले एक्लौटी रूपमा निर्णय गर्दै गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ।

पार्टीको १४औं महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गरेकै कारण पार्टी नेतृत्वले आफूहरूलाई किनारा लगाउन खोजेको आरोप लगाउँदै सहभागीहरूले आफूहरूको भेलालाई नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउने उनीहरूको चेतावनी छ।

आगामी निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवार मनोनयनको मिति नजिकिएसँगै शेखर समूहका नेताहरू भेलामा जुट्न थालेका छन्। यसअघि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै उनीहरूले आन्दोलन गरेका थिए। इतर समूहले आन्दोलन चर्काउँदै गएपछि पार्टी नेतृत्वले अन्तिममा समानुपातिक सूचीमा केही परिवर्तन गरेको थियो।

स्थापन इतर समूहले बिहीबार गरेको भेलामा सहभागी अधिकांश नेताहरूले पार्टीभित्र टिकट वितरणमा संस्थापन पक्षले गरेको एकलौटी गरेको निर्णय विरुद्ध लड्न नसकेको भन्दै इतर समूहका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।

असन्तुष्ट नेताहरूले शुक्रबारभित्र नै इतर समूहका शीर्ष नेता डा.शेखर र महामन्त्री थापासहितका नेताहरूसँग बसेर अबको कदमको विषयमा छलफल गर्ने निर्णय गरेका छन्।

असोज २०, २०७९ बिहीबार २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।