जसपाको एमाले-गठबन्धनसँग समानान्तर छलफल, बालकोटमा उपेन्द्र, बालुवाटारमा मनिष

जसपाको एमाले-गठबन्धनसँग समानान्तर छलफल, बालकोटमा उपेन्द्र, बालुवाटारमा मनिष

काठमाडौं : १६ भन्दा बढी सिट नपाउने भएपछि जनता समाजवादीले पाँच दलीय गठबन्धन र एमाले दुवैतिर समानान्तर छलफल बढाएको छ।

पार्टी बैठकबाटै पाँच दल बाहिर पनि निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको थियो। आज पाँच दलबीच सिट बाँडफाँडको निर्णय टुङ्ग्याउन बैठक बसिरहेको छ।

बालुवाटारमा बसिरहेको गठबन्धन दलको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव छैनन्। जसपा प्रवक्ता मनिष सुमन लगायतका नेता छन्।

यादव भने तालमेलको सिटमा सहमति गर्न बालकोट पुगेका छन्। यता गठबन्धनले जसपालाई १६ सिट दिने तयारी गरेको छ। उसले प्रतिनिधि सभाका लागि २० र प्रदेशमा मधेस प्रदेशमा बहुमत सिट दाबी गरेको छ।

एमाले जसपालाई मधेस प्रदेशमा बहुमत पुग्ने गरी प्रतिनिधि सभामा २५ सिट दिन राजी देखिएको छ। तर, कुन-कुन क्षेत्र तोकी सकिएको छैन।

'हाम्रो प्राथमिकता पाँच दलीय गठबन्धन नै हो। तर, गठबन्धन कांग्रेस र माओवादीको फाइदाका लागि मात्र केन्द्रित भयो' जसपाका एक नेताले भने, 'जसपा २ दललाई मात्र फाइदा हुने गरी चुनावमा जान तयार छैन।'

उता एकीकृत समाजवादी पनि सिट सङ्ख्यामा सहमत छैन। तर, गठबन्धन छाड्ने पक्षमा पनि छैन। उनीहरू गठबन्धनमै बसेर सिट बढाउन सक्रिय देखिन्छन्।

कांग्रेस, एकीकृत माओवादी अनि जनमोर्चा भने गठबन्धनको सिट बाँडफाँडको प्रस्तावमा सहमत देखिन्छन्। कांग्रेस ८६,माओवादी ४६ र जनमोर्चा २ सिटमा सहमति खोजिरहेका छन्।

असोज २०, २०७९ बिहीबार २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।