कस्ता व्यक्ति उम्मेदवार बन्न पाउने कस्ता नपाउने? आयाेगले ताेक्याे याेग्यता (विज्ञप्तिसहित)

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको मंसिर ४ मा हुने प्रत्यक्षतर्फ उम्मेदवारीका लागि चाहिने योग्यताको सूची सार्वजनिक गरेको छ।
आयोगले कुनै उम्मेदवारले के कुरा पूरा नगरे अयोग्य हुने भन्नेबारे पनि सँग–सँगै सूची जारी गरेको हो। आयोगले विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्ने योग्यता नराख्ने भनेको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले असोज २३ गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने क्रममा उम्मेदवार योग्य र अयोग्य हुने आधार सार्वजनिक गरेका छन्।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उम्मेदवार सुरुमा नेपालको नागरिक हुनुपर्ने योग्यता राखिएको छ। त्यसपछि ‘प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकोु हुनुपर्ने उल्लेख छ।
उम्मेदवार बन्नका लागि २५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने कुनै पनि संघीय कानुनले अयोग्य नभएको हुनुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उम्मेदवार बन्न कुनै लाभको पद बहाल नरहेको हुनुपर्ने पनि आयोगले भनेको छ। लाभको पद भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्ने उल्लेख छ।
कस्ता व्यक्ति प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्न अयोग्य हुनेछन् भन्नेबारे पनि आयोगले सूची जारी गरेको छ।
असोज २०, २०७९ बिहीबार १८:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।