मनाङमा हिमपात, सुरक्षित रहन पर्यटकलाई आग्रह

मनाङ : मनाङमा वर्षासँगै हिमपात भएको छ। मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ।
हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन्। ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताए।
‘विहान हिउँ मात्रै परेको थियो, अहिले हिउँसँगै वर्षा भइरहेको छ,’ उनले भने, ‘हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको छ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएको उनले बताए। मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा बाह्य पर्यटक रहेको उहाँले जानकारी दिए।
थोराङ्ला पास (५,४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी, हाइक्याम्पलगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान गरिएको छ।
तिलिचो ताल (४,९१९ मिटर)तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा पनि पर्यटक रहेका छन्।
असोज २०, २०७९ बिहीबार १६:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।