प्रचण्डलाई चितवन- ३ बाटै उम्मेदवार बन्न अनुरोध

प्रचण्डलाई चितवन- ३ बाटै उम्मेदवार बन्न अनुरोध

काठमाडौं: माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै आगामी संघीय निर्वाचनमा उम्मेदवार बन्न चितवनका गठबन्धनभित्रका दलहरूले अनुरोध गरेका छन्। दलहरूको संयुक्त बैठकले प्रचण्डका बारेमा सामाजिक सञ्जालमा आएका विषयले गठबन्धन दलहरूको ध्यानाकर्षण भएको ठहर गरेको छ। 

दलहरूको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन क्षेत्र नम्बर ३ छाडेर अन्यत्र जाने भन्ने सामाजिक सञ्जाल तथा मिडियामा आएको खबरले हाम्रो ध्यानाकर्षण भएको छ। दाहाललाई पहिले निर्वाचित भएकै चितवन क्षेत्र नम्बर ३ बाटै निर्बाचनमा उम्मेदवार बन्न आग्रह गरिएको छ।”

नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यही असोज २३ गते हुने मनोनयनका लागि प्रत्येक दलबाट दुई/दुई जनाका दरले तयारी समिति समेत गठन गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रदेश तथा सङ्घीय निर्वाचनका लागि तयारी समिति गठन गरिएको र आसन्न निर्वाचनलाई उत्साहजनक बनाउन कुनै कसूर बाँकी नराख्ने जनाइएको छ।

साथै बैठकले गठवन्धन दलका नेता तथा कार्यकर्तालाई गठबन्धनका उम्मेदवार विजयी गराउन अग्रसर हुन समेत अनुरोध गरेको छ।बैठकमा नेकपा माओवादी केन्द्रका जिल्लाअध्यक्ष रामचन्द्र अधिकारी, नेकपा समाजवादीका उपाध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादी पार्टीका प्रेमराज भुजेलको उपस्थिति थियो।

असोज १९, २०७९ बुधबार ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।