प्रचण्डलाई चितवन छोड्न बाध्य बनाउने नेता जो माओवादीमै सक्रिय छन्

काठमाडौँ : माओवादीको भातृ संस्था वाइसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले फेसबुकमा यसलाई चितवनमा गम्भीर सङ्कट आएको धारणा राखे।
उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्रकै नेता हुन्।
उनले फेसबुकमा लेखे‘अन्ततः चितवन र ३ नम्बर निर्वाचन क्षेत्रको विकासको विशाल सम्भावनामाथि गम्भीर सङ्कट आयो। देशका र बाहिरका परिवर्तन विरोधीका हजार षडयन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना हुँदै छ।’
उनले 'जजसका कारण यस्तो भयो' भन्दै लेखे' त राम्रैसँग पछुताउनुपर्ने छ।'
दोस्रो पटक चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा रहेका प्रचण्डले आफ्नो क्षेत्र केन्द्रित भएर चुनावी गतिविधिमा सक्रिय हुँदाहुँदै उनी गोरखाबाट उम्मेदवार बन्ने सूचना बाहिरियो। प्रचण्डले न सार्वजनिक रूपमा यसको खण्डन गरेका छन् न स्वीकार।
यसले यो केवल आङ्कलन मात्रै हैन भन्ने देखाउँछ नै। त्यसलाई वाइसिएलका कोषाध्यक्षको धारणाले प्रचण्ड चितवनको विकल्पका लागि गृहकार्यमा रहेको देखाउँछ।
वाइसिएल कोषाध्यक्ष पनेरुको फेसबुक स्टाटसले पार्टीभित्रकै विद्रोहका कारण प्रचण्ड आफ्नै निर्वाचनमा असुरक्षित भएपछि निर्वाचन क्षेत्र सार्ने तयारीमा रहेको देखाउँछ।
माओवादी केन्द्र चितवनका केही नेताहरूसँग यसबारे भएको कुराकानीमा माओवादी केन्द्र चितवनको नेतृत्वमा रहेका यमबहादुर परियार ‘इन्द्रजीत’ आफ्ना समर्थकसँगै एमालेमा प्रवेश गरेपछि प्रचण्ड झस्किएका हुन्।
माओवादी केन्द्रको केन्द्रीय सदस्य र जिल्ला सह–इन्चार्ज रहेका उनी एकाएक एमालेमा गएपछि माओवादी केन्द्र चितवनमा कमजोर बन्यो। त्यसको असर प्रचण्डको क्षेत्रमा पनि पर्यो।
उनी चितवनको जिल्ला इन्चार्ज, अध्यक्ष र सेक्रेटरीको रूपमा काम गरिसकेका नेता हुन्। एमाले र माओवादी केन्द्रबिच एकता भएर बनेको नेकपाको उनी जिल्ला अध्यक्ष थिए।
उनी एमालेमा केन्द्रीय सदस्यको हैसियतमा प्रवेश मात्र गरेनन् माओवादी जनमुक्ति सेनाको रूपमा महत्त्वपूर्ण जिम्मेवारी निभाएका बागमती प्रदेशका नेता अञ्जन तिम्सिना, जिल्ला नेताहरू तुलबहादुर विक, गोविन्दप्रसाद अधिकारी, नारायणप्रसाद अधिकारी, आकाश थापा, सुरेश थापा, महानगरका नेता बुद्धिबहादुर लामा, रामप्रसाद सापकोटा, हेमबहादुर गुरुङ, वाइसिएल नेता कृष्ण अधिकारीलगायतका नेताहरू समेत एमालेमा प्रवेश गरे।
यसलाई माओवादीले कायरता भन्दै आलोचना गरे पनि उनी एमालेमा जानुको प्रभाव चितवनमा कुन रूपमा पर्यो भन्ने प्रमाण प्रचण्ड चितवनको निर्वाचन क्षेत्र छाडेर गोरखा जाने तयारीबाटै देखिन्छ।
बाबुराम भट्टराइले अब प्रतिनिधि सभाको उम्मेदवार नबन्ने भनेर गरेको निर्णयको कारण पनि प्रचण्ड गोरखा जाने तयारीको प्रभावको रूपमा हेरिएको छ।
शंकामा घनश्यामको भूमिका
यामबहादुर परियार माओवादीबाट एमालेमा जानुमा मुख्य योजनाकार माओवादीका प्रदेश सांसद तथा बागमती प्रदेशका श्रम तथा यातायात मन्त्री रहेका घनश्याम दाहाल रहेको चितवनकै माओवादी नेताहरू आरोप लगाउँछन्।
चितवन– २ को प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फबाट सांसद बनेका उनको नाम अहिले पनि प्रदेशमै सिफारिस भएको छ। चितवनमा अहिले जुन रूपमा माओवादीभित्र किचलो देखिएको छ त्यसको कारण उनै दाहाल रहेको माओवादी जिल्ला नेताहरू नै दाबी गर्छन्।
'चिन्ता यामबहादुर एमालेमा गए भन्नेभन्दा पनि पार्टीभित्रै बसेर छुरा धस्नेहरूको हो,' जानेहरू गए। तर पार्टीभित्रै बसेर नेतृत्वलाई हराउन लागेकाहरूबाट अध्यक्ष कमरेड क्षेत्र छाड्ने मनस्थितिमा पुगेको देखियो।'
असोज १८, २०७९ मंगलबार १६:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।