आज महानवमी: सिद्धिदात्री देवीको पूजा आराधना हुँदै

आज महानवमी: सिद्धिदात्री देवीको पूजा आराधना हुँदै

काठमाडौं: आज असोज शुक्ल नवमी अर्थात् दशैंको नवौँ दिन। आजको दिनलाई नेपाली परम्पराअनुसार महानवमी भनिन्छ।

आज नवदुर्गामध्येकी सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। र, आजैबाट नवरात्र सकिन्छ। भोलि बडा दशैं अर्थात् देवी विसर्जन गरिन्छ।

सिद्धिदात्रीले सबैलाई मोक्ष प्रदान गर्ने विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ। पौराणिक कथनअनुसार मार्कण्डेय ऋषिलाई ब्रह्माले देवीका नौ नाम बताएका थिए, जुन नाम स्मरण मात्र गर्नाले पनि मानिस जुनसुकै कष्ट वा संकटबाट सजिलै मुक्त हुनसक्छ।

मार्कण्डेय पुराणमा बताइएअनुसार सिद्धि आठ प्रकारका छन्— अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व। इच्छाअनुसार सानो रूप बनाउन सक्नु अणिमा हो।

त्यस्तै ठूलो रूप बनाउन सक्नु महिमा हो। हलुका रूप बनाउन सक्नु लघिमा हो भने गह्रौँ रूप बनाउन सक्नु गरिमा हो। इच्छाअनुसारको प्राप्ति गर्नुलाई प्राप्ति भनिन्छ भने इच्छाअनुसार जस्तोसुकै रूप लिन सक्नुलाई प्राकाम्य भनिन्छ। ईशित्व भनेको शासन गर्ने क्षमता हो भने वशित्व भनेको अरूलाई वशमा पार्न सक्नु हो।

ब्रह्मवैवर्त पुराणमा यीबाहेक सर्वकामावसायिता (सबै कामना पूरा गर्न सक्नु), सर्वज्ञत्व (सबै कुराको ज्ञान), दूरश्रवण (टाढाको पनि सुन्नु), परकायप्रवेशन (अरूको शरीरमा प्रवेश गर्नु), वाक्सिद्धि (बोलेअनुसारको हुनु), कल्पवृक्षत्व (सोचेअनुसारको उत्पन्न गर्न सक्नु), सृष्टि (निर्माण क्षमता), संहार (विनाशको क्षमता), अमरत्व (कहिल्यै नमर्नु), सर्वन्यायकत्व (सबैलाई न्याय गर्ने क्षमता) र भावना (अनुभव, कर्म र तुलनाबाट उत्पन्न हुने विशिष्ट प्रकारको ज्ञान) गरी अठार प्रकारका सिद्धि बताइएको छ। यी सबै सिद्धि दिने देवी भएकाले यिनको नाम सिद्धिदात्री रहन गएको हो।

देवीपुराणमा उल्लेख भएअनुसार भगवान् शिवले सिद्धिदात्रीको कृपाबाट यी सबै सिद्धि प्राप्त गरेका थिए। त्यसैले उनले अर्धनारीश्वर (आधा नारी र आधा पुरुषको) रूप बनाएका हुन्।

सिद्धिदात्रीका दायाँ हातमा चक्र र गदा छन् भने बायाँ हातमा शंख र कमलपुष्प छन्। सुन्दर वस्त्र र अलंकारले सुसज्जित यिनी दिव्य तेजले युक्त छिन्। यिनी कमलको आसनमा बस्छिन्। यिनको वाहन सिंह हो। यिनलाई वरिपरिबाट सिद्ध, गन्धर्व, यक्ष, देवता, असुर आदिले पूजा गरिरहेका हुन्छन्।

सिद्धिदात्रीको कृपा प्राप्त गर्ने उपासकले सबै सिद्धि प्राप्त गर्दछन्। उनीहरूका लागि कुनै कामना बाँकी नै रहन्न। सिद्धि प्राप्त गरेका भक्त संसारका सबै इच्छा र आवश्यकताभन्दा माथि उठेर मानसिक रूपले जगज्जननी भगवतीको दिव्य लोकमा विचरण गर्दछन् भन्ने शास्त्रीय कथन छ।

असोज १८, २०७९ मंगलबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।