सार्वजनिक सवारीको गति नियमन गर्न पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

सार्वजनिक सवारीको गति नियमन गर्न पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

काठमाडौं: पोखरा- बागलुङ- बेनी सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयन गरिएको छ। दुर्घटना न्यूनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपि शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुलाई टाईम कार्ड लागू गरिएको जानकारी दिए।

“यहाँबाट छुट्ने र पोखराबाट धौलागिरी क्षेत्रमा भित्रने सवारी साधनले डिमुवा र पोखराको जौवारी चेक प्वाइन्टमा टाइमकार्ड देखाएर इन्ट्री गर्नुपर्नेछ,” उनले भने, “तोकिएको समयभन्दा छिटो जाने आउने गरेमा र इन्ट्री नगरेमा जरिवाना हुन्छ।”

प्रहरी सहायक निरीक्षक थापाका अनुसार ढिला कुदाउने हुँदा ठूला बसका लागि भने टाइमकार्ड लागू गरिएको छैन। डिमुवा–बेनी १ घण्टा ४० मिनेट, बागलुङ–डिमुवा ५५ मिनेट र कुश्मा–डिमुवा २५ मिनेट समय तोकिएको छ।

४५ किलोमिटर दूरीका डिमुवा–जौवारी खण्डका लागि एक घण्टा २० मिनेटको समय तोकिएको छ।

मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने भूपी शेरचन राजमार्ग प्रयोग गरेर पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा आवत जावत हुन्छ।

असोज १७, २०७९ सोमबार ०७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।