पत्रकार थर्काउने र विवादास्पद अभिव्यक्तिबाट चर्चित पूर्वमेयर चौधरी माओवादी प्रवेश

पत्रकार थर्काउने र विवादास्पद अभिव्यक्तिबाट चर्चित पूर्वमेयर चौधरी माओवादी प्रवेश

काठमाडौंः सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

आइतबार विहान चौधरीसहित एमालेका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे।

एमालेबाट सांसदको टिकट पाउने–नपाउने निश्चित नभएपछि उनी माओवादीमा प्रवेश गरेको सुनसरीमा चर्चा छ। माओवादी प्रवेशपछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ।

इटहरी–१७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए। २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।

पत्रकारलाई थर्काउने तथा विभिन्न विवादास्पद अभिव्यक्तिका कारण उनी आफ्नो कार्यकालभरी चर्चामा रहे। उनले पत्रकार विराट अनुपमलाई थर्काएपछि त्यो विषयले राष्ट्रिय स्तरमा चर्चा पाएकाे थियाे।

साथै उनले एउटा सार्वजनिक कार्यक्रममा अपशब्द प्रयोग गरेर भाषण गरेका थिए। भाषणपछि कारबाही गर्नुपर्ने माग भए पनि पार्टीले कुनै पनि कारबाही गरेकाे थिएन।

असोज १६, २०७९ आइतबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।