रुपन्देहीमा साढे १३ हजारभन्दा बढी मतदाता थपिए, क्षेत्र नम्बर ५ को (क)मा धेरै मतदाता

बुटवल: रुपन्देही जिल्लामा पछिल्लो निर्वाचनभन्दा यस पटक मतदाताको सङ्ख्या थप भएको छ। विवरणअनुसार यस पटक रुपन्देहीबाट १४ हजार ७७७ जनाको नाम मतदाता नामावलीमा थप भएको छ।
जसमध्ये रुपन्देहीबाट अन्य बाहिरका जिल्लाको पनि एक हजार ७७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय भैरहवाका कम्प्युटर अपरेटर विनोद भट्टराईका अनुसार जिल्ला निर्वाचन कार्यालय रुपन्देहीबाट अन्य जिल्लाको लागि पनि मतदाता नामावली संकलन गरिएको थियो। जसमा कुल एक हजार ७७ जनाको नामावली अन्य जिल्लाको लागि संकलन गरिएको हो।
अर्थात् जिल्लामा प्रारम्भिक तथ्याङ्कअनुसार १३ हजार ६५७ जना नयाँ मतदाता थपिएका छन्।
अन्य जिल्लाबाट समेत रुपन्देहीका स्थानीयले मतदाता नामावलीमा नाम दर्ता गरेका कारण यो तथ्याङ्क अझै बढ्ने आकलन गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीका अनुसार गत असार १ गतेदेखि साउन १९ गतेसम्म जिल्लाका पाँच स्थानबाट मतदाता नामावली संकलन तथा अध्यावधिक गरिएको थियो।
जसअनुसार जिल्ला प्रशासन कार्यालयमा दुई हजार ४२२ जना, ईलाका प्रशासन कार्यालय बुटवलमा दुई हजार ५२५ र दुई हजार ८६१ जना, जिल्ला निर्वाचन कार्यालयमा ८७१ र तीन हजार ५०९ जनाको मतदाता नामावली संकलन गरिएको छ। यस्तै ईलाका प्रशासन कार्यालय मँजगाँवाबाट एक हजार ४६९ जनाको नयाँ मतदाता नामावली संकलन गरिएको थियो।
केन्द्रीय निर्वाचन कार्यालयका अनुसार जिल्लामा हाल ६ लाख ४७ हजार ४८२ जना मतदाता छन्। यो पछिल्लो विवरण समेत थपिएर आएको तथ्याङ्क हो।
जसमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर ५ को (क)मा ७५ हजार ५२८ जना मतदाता रहेका छन्। ५ को (ख)मा ५४ हजार ९४३ जना मतदाता रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ को (क)मा ७३ हजार ३२७ जना मतदाता छन्। जसको (ख)मा ६८ हजार १८२ जना मतदाता छन्।
यस्तै रुपन्देहीको बुटवल क्षेत्र रहेको निर्वाचन क्षेत्र २(क)मा ६४ हजार ४५२ र सोही निर्वाचन क्षेत्र (ख)मा ६४ हजार २२५ जना मतदाता रहेका छन्।
जिल्लामा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन्। समानुपातिकबाहेक संघअन्तर्गत पाँच जना र प्रदेशअन्तर्गत १० जना सांसद जिल्लाबाट चुनिँदै आएका छन्।
यो पटक जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले निर्वाचन शिक्षाको लागि निर्वाचन शिक्षा कार्यकर्ता समेत छनोट गरी खटाउने भएको छ।
अघिल्लो पटक स्थानीय तह निर्वाचनमा निर्वाचन शिक्षा कार्याकर्ता खटाइएको थिएन। गठबन्धनको कारण मत बदरको दर वृद्धि भएको थियो।
असोज १६, २०७९ आइतबार ०९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।