दशैंको सातौँ दिन: कालरात्रिको पूजा आराधना अनि फूलपाती भित्र्याइने

काठमाडौं: नेपालीहरूको महान् चाड दशैंको आज सातौँ दिन हो। असोज शुक्ल सप्तमी अर्थात् आजको दिनलाई फूलपाती पनि भनिन्छ।
आजको दिन नवदुर्गामध्ये कालरात्रिको पूजा आराधना गरिन्छ।
पौराणिक मान्यताअनुसार ब्रह्माको एक दिन अर्थात् चौध मन्वन्तरको अवधि सकिएपछि ब्रह्माण्डमा महाप्रलय हुन्छ। त्यस बेला सबै प्राणी जगत्को संहार हुन्छ। सृष्टिको त्यो भयंकर रातलाई कालरात्रि भनिन्छ। त्यस रात अर्थात् संहारकी अधिष्ठात्री देवी हुनाले यिनलाई कालरात्रि भनिएको देखिन्छ। दक्षयज्ञ विध्वंश गर्ने भद्रकाली यिनैको रूप मानिन्छ।
कालरात्रि कालो वर्णकी छिन्। शरीर तेल लगाएजस्तो टलक्क टल्कने कालो छ। यिनी लामालामा केश फिँजेकी, ठूलाठूला गोलाकार तीन आँखा भएकी लामो जिब्रो र ठूलाठूला दाँत भएकी घोररूपा छिन्। कालरात्रिको ओठ लाली लगाएको जस्तो प्राकृतिक रूपमै राता छन्। आँखाबाट बिजुली चम्केजस्तो तेज निस्कन्छ। यिनी वस्त्रहीन छिन्। कतै बाघाम्बरले र कतै मुण्डमालाले यिनका अंग ढाकिएको वर्णन गरिन्छ।
कालरात्रिले फलामका काँडेदार गहना लगाएकी छन्। यिनका श्वासमा नाक र मुखबाट आगाका भर्भराउँदा लप्का निस्किन्छन्। कालरात्रिको दायाँ हातमा वरमुद्रा र अभयमुद्रा छन् भने बायाँ हातमा फलामको काँडेदार हतियार र खड्ग छन्। कालरात्रिको वाहन गधा हो।
यस्तै आज घर-घरमा फूलपाती पनि भित्र्याइँदैछ। शक्तिपीठहरूमा र मन्दिरहरूमा घटस्थापना गरी दुर्गापूजा गरेको स्थानमा फूलपाती भित्र्याइन्छ।
यस्तै गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने चलन छ।
असोज १६, २०७९ आइतबार ०७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।