सिटौलाको नयाँ प्रस्तावले गठबन्धन संकटमा, शेखर-गगन समूह नयाँ रणनीतिमा

सिटौलाको नयाँ प्रस्तावले गठबन्धन संकटमा, शेखर-गगन समूह नयाँ रणनीतिमा

काठमाडौँ : पाँच दलीय गठबन्धनबिच सिट बाँडफाँड गर्न बनाएको कार्यदलका संयोजक कृष्ण सिटौलाले ल्याएको नयाँ प्रस्तावले दलहरूबिच असन्तुष्टि बढाएको छ।

सिटौलाले सिट बाँडफाँडबारे नयाँ प्रस्ताव ल्याएपछि जनता समाजवादी पार्टी र एकीकृत समाजवादी दल असन्तुष्ट बनेका हुन्।

सिटौलाले कांग्रेस र माओवादी केन्द्रलाई मात्र फाइदा हुने गरी भागबन्डाको प्रस्ताव बनाएको र सहमतिलाई धकेलेर अन्य दललाई थोरै सिट दिएर सहमति गर्न बाध्य बनाउने रणनीति लिएको भन्दै उनीहरू असन्तुष्ट भएका हुन्।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सिट बाँडफाँडमा सहमति गर्न बसेको शीर्ष नेताहरूको बैठकबाट उठेर हिँडेका थिए। जनता समाजवादी पार्टीले त शनिवार पार्टी बैठक राखेर पाँच दलबिच मित्रवत् प्रतिस्पर्धा गर्ने र अन्य दलहरूसँग समेत तालमेल गर्न सक्ने गरी निर्णय गरिसकेको छ।

गठबन्धनभित्र एकीकृत समाजवादीलाई अधिकतम १८ सिट अनि जसपालाई अधिकतम १३ सिट दिने तयारी भइरहेको छ। एकीकृत समाजवादीले ३० सिट र जसपाले २० सिट दाबी गरिरहेका छन्। जनमोर्चाको भागमा २ सिट परेको छ। माओवादीलाई ४६ सिट दिएर बाँकी सिट कांग्रेसले लिने तयारी देखिन्छ।

यसमा माओवादी समर्थनमा देखिन्छ। तर एकीकृत समाजवादी र जसपा भने सकारात्मक देखिएका छैनन्। जसपासँग अन्य दलसँग सहकार्य गर्ने विकल्प जीवित देखिन्छ। तर एकीकृत समाजवादीका हकमा भने पार्टी अप्ठ्यारोमा देखिन्छ।

काङ्ग्रेसभित्रै रडाको

उता समानुपातिक सूचीले गठबन्धनको नेतृत्व गरिरहेको काङ्ग्रेसभित्रै रडाको मच्याइरहेको छ। शेखर कोइराला समूहले समानुपातिक सूची सच्याउन शनिवार बेलुकासम्मको अल्टिमेटम दिएको थियो।

पार्टी सभापति शेरबहादुर देउवा कोइराला समूहको प्रस्तावमा सकारात्मक भए पनि सो समूहका अन्य नेताहरूले भने मानेका छैनन्।

तर कोइराला समूह समानुपातिक सूची नसच्याए समानान्तर गतिविधिलाई तीव्र बनाउने तयारीमा देखिन्छ। उनीहरूले प्रत्यक्षतर्फ ४० प्रतिशत सिटको माग गरिरहेका छन्।

उनीहरूले धर्ना दिनेदेखि गठबन्धन बाहिरका दलसँग सहकार्यका लागि छलफल अगाडि बढाउनेसम्मका गतिविधि गरिरहेका छन्। त्यसले देउवा अप्ठ्यारोमा परेका छन्। तर आफ्नै समूहका नेताहरूलाई मनाउन सकिरहेका छैनन्।

पछिल्लो समय पार्टी महामन्त्री गगन थापा समेत देउवाविरुद्ध सार्वजनिक मञ्चहरूमा आक्रामक देखिन थालेका छन्। केही दिन अगाडि काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा उनले पार्टीभित्रै विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका थिए।

असोज १५, २०७९ शनिबार २३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।