अस्पतालमा उपचाररत रहेका बलात्कार र लागुऔषधका कैदी भागे, छानबिन गर्न समिति गठन

विराटनगर : उपचारका लागि अस्पतालमा रहेका २ जना कैदी भागेपछि प्रहरीले अनुसन्धान गर्न समिति गठन गरेको छ। विराटनगर-८ मा रहेको मोरङ कारागारका दुई कैदीबन्दी भागेपछि प्रदेश १ प्रहरी कार्यालयले छानबिन र अनुसन्धान गर्न समिति गठन गरेको हो।
लागूऔषध मुद्दामा कारागारमा रहेका २८ वर्षीय मञ्जिल गुरुङ र बलात्कार मुद्दामा कारागारमा रहेका २८ वर्षीय राजकुमार हेमरम शनिवार बिहान ९ बजे विराटनगर-७ स्थित क्षयरोग अस्पतालबाट भागेका हुन्।
हेमरम १३ असारदेखि र गुरुङ १७ भदौदेखि उपचारका लागि अस्पतालमा थिए। उनीहरू बिहान अस्पतालमा नदेखेपछि साँझसम्म खोज्दा पनि फेला नपरेपछि प्रदेश प्रहरीले एसएसपी जयराज सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार समितिलाई १० दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। झापा कारागारमा रहेका उनीहरूलाई उपचारका लागि मोरङ कारागारमा स्थानान्तरण गरिएको थियो। झापा गाउँपालिका-५ का हेमरमलाई जिल्ला अदालतबाट २०७५ मा १६ वर्ष कैद सजायको फैसला भएको थियो।
१० हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत झापाले गुरुङलाई २०७८ को ५ कात्तिकमा पुर्पक्षका लागि कारागार पठाएको थियो।
असोज १५, २०७९ शनिबार २२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।