नेकपाकालीन मुद्दा ब्युँताएर बदला लिने तयारीमा ओली

नेकपाकालीन मुद्दा ब्युँताएर बदला लिने तयारीमा ओली

काठमाडौँ : पाँच दलीय गठबन्धनभित्रको असन्तुष्टिमा खेलेर आफू अनुकूल परिणाम ल्याउने रणनीतिमा लागेको एमालेमा नेकपाकालीन प्रतिशोध ब्युँतने सङ्केत देखिएको छ।

पार्टीको संयन्त्रबाट प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार चयन नगरी पार्टी अध्यक्षलाई एकल अधिकार दिएपछि केपी ओली नेकपाकालीन प्रतिशोध लिने रणनीतिमा लागेका हुन्।

तत्कालीन विवादको बेलामा पुष्पकमल दाहाल र माधव नेपाललाई साथ दिएर पछि एमालेमै फर्किएका १० नेतालाई माफी मगाउने रणनीतिमा लागेका छन्।

त्यसका लागि उनले संसद्को टिकटलाई हतियार बनाएका छन्। पार्टीको सचिवालय बैठकमा उनले प्रस्ट हिजो आफ्नै पार्टीको प्रधानमन्त्रीको विपक्षमा हस्ताक्षर गर्नेहरूले माफी नमागेसम्म टिकट दिन नसकिने तर्क राखेका थिए।

अन्य नेताहरू अहिलेको अवस्थामा पार्टीमा विवाद बढाउने पक्षमा छैनन्। पार्टी विरुद्ध पाँच दलको गठबन्धन बनेकाले आन्तरिक विवाद बढाउन नहुने पक्षमा छन्। तर ओली मौखिक रूपमा भए पनि माफी मगाउने पक्षमा उभिएपछि आन्तरिक विवाद बढ्ने देखिन्छ।

ओली मुख्य गरी भीम रावल र धनश्याम भुसाललाई टिकट दिने पक्षमा छैनन्। सुरेन्द्र पाण्डे लगायतका नेताबारे उनी सकारात्मक छन्। तर नेकपाकालीन विवादमा उनी आफू जित्न चाहन्छन्।

टिकट दिने सर्तमा उनले लिखित माफीको माग गरिरहेका छन्। सुवास नेम्वाङ लगायतका नेताहरू भने पुराना कुरा कोट्याउन नहुने पक्षमा छन्।
राप्रपा- लोसपासँगको सहकार्य अन्योलमा
पाँच दलीय गठबन्धन विरुद्ध एमालेले राप्रपा, राप्रपा नेपाल अनि लोकतान्त्रिक समाजवादी पार्टीसँग सहकार्य गर्ने पक्षमा छ।

तर सहमतिको खाका अझै बन्न सकेको छैन। राप्रपाले आफू अनुकूल उम्मेदवारी घोषणा गरिरहेको छ।

रवीन्द्र मिश्र, रेखा थापा लगायतका नेताले एमालेसँगको सहमति अगाडि नै उम्मेदवारी घोषणा गरेका छन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेन झापा, बुद्धिमान तामाङ धादिङ, विक्रम पाण्डे चितवनमा उम्मेदवार बन्ने तयारीमा छन्।

उता लोसपामा भने अझै अन्योल देखिन्छ।एकातिर निर्वाचनमा सहकार्य गर्ने भन्ने अनि अर्कोतिर पार्टीका नेतालाई पार्टी प्रवेश गराउने एमाले व्यवहारप्रति लोसपाका नेता असन्तुष्ट छन्।

पछिल्लो समय लोसपाका नेताहरू अनुकूलता हेरेर अन्य दलमा प्रवेश गर्ने क्रम बढेको छ। उनीहरू एमाले, कांग्रेस अनि जसपामा प्रवेश गरिरहेका छन्।

पार्टीका वरिष्ठ नेताहरूले समेत आफू उठ्ने क्षेत्र तोक्न सकेका छैनन्। 

असोज १५, २०७९ शनिबार १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।