मौसम विभागले सार्वजनिक गर्‍याे दशैंको विशेष बुलेटिन, यी दिन भारी वर्षा हुने

मौसम विभागले सार्वजनिक गर्‍याे दशैंको विशेष बुलेटिन, यी दिन भारी वर्षा हुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दशैंको विशेष बुलेटिन सार्वजनिक गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको विशेष बुलेटिनमा नवमीदेखि द्वादशीसम्म पानी पर्नसक्ने बताइएको छ। मनसुन बाहिरिने समय अक्टोबर २ भएता पनि यसवर्ष केही ढिलासम्म मनसुनी वर्षा हुने महशाखाको भनाइ छ।

हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा असोज १८ अर्थात दशैंको नवमीको दिनदेखि नेपालमा यसको प्रभाव पर्ने महाशाखाले जनाएको छ।

नवमीमा देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै विजयादशमीको दिन देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, टीकाको भोलिपल्ट अर्थात एकादशीको दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, द्वादशी अर्थात असोज २१ गते सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।

असोज १५, २०७९ शनिबार ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।