सादा पोसाकमा दशैं विशेष ट्राफिक प्रहरीको चेकिङ, बढि भाडा लिने ४२ जना पक्राउ

काठमाडौं : चाडपर्वको समयमा यात्रुबाट तोकिएको भन्दा बढि भाडा लिने ४२ जनालाई काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट बुधबार खटिएको प्रहरी टोलीले दिनभरी अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरूलाई तोकिएको भन्दा बढि भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधिमा संलग्न रहेका उनीहरूलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग गंगबु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
असोज १३, २०७९ बिहीबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।