दशैंको चौथो दिन: कुष्माण्डा देवीको पूजा गरिँदै, वाणीमा दोष भए मालपुवा अर्पण गर्दा शुभ हुने विश्वास

दशैंको चौथो दिन: कुष्माण्डा देवीको पूजा गरिँदै, वाणीमा दोष भए मालपुवा अर्पण गर्दा शुभ हुने विश्वास

काठमाडौं: नेपालीहरूको महान् चाड दशैंको आज चौथो दिन हो। आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ।

यसअघि घटस्थापनादेखि महानवमीको नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरिने परम्पराअनुसार पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी भगवती र तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिएको थियो।

धार्मिक विश्वासअनुसार दुर्गाको कुष्माण्डा शक्तिबाटै ब्रह्माण्डको उत्पत्ति भएको हो। सेतो कुभिण्डोको जस्तो रूप हुने भएकाले यिनलाई कुष्माण्डा भनिएको हो।

यस्तै आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन तापलाई कुष्मा भनिन्छ। कुष्माण्डा देवीले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले उनको नाम कुष्माण्डा राखिएको हो। विभिन्न पुराणका अनुसार कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्छिन्।

कुष्माण्डाको पूजा अराधना गरेमा ज्ञान प्राप्त हुने बताइन्छ। यस्तै कुनै प्रकारका वाणीमा दोष छ भने आजको दिन मालपुवा अर्पण गरे शुभ हुने विश्वास गरिन्छ।

असोज १३, २०७९ बिहीबार ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।