किशोर थापा पनि विवेकशिल साझाबाट अलग भए

काठमाडौँ : २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार बनेर सम्मानित मत पाएका पूर्व सचिव किशोर थापाले विवेकशील साझा पार्टी छाडेका छन्।
पार्टीको एक समूह लिएर रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएर वरिष्ठ उपाध्यक्ष बनेकै दिन थापाले राजीनामा पत्र सार्वजनिक गरेका हुन्।
असोज ४ को मितिको राजीनामा पत्रमा उनले पाँच वर्षदेखि विवेकशील साझामा आबद्ध रहेकोमा अब अलग भएको लेखेका छन्।
उनले राजीनामामा पार्टीको अस्तित्व रहेसम्म सद्भाव रहने भन्दै अन्य दलमा नजाने सङ्केत गरेका छन्।
बुधवारै विवेकशील साझाका संस्थापक रवीन्द्र एक कार्यक्रम गरेर राप्रपा प्रवेश गर्दै हलोमा मत माग्न आफूलाई कुनै सङ्कोच नहुने बताएका थिए। उनी गत निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट संसद्को उम्मेदवार बनेर थोरै मतान्तरले हारेका थिए।
यो पटक पनि उनी सोही क्षेत्रमा उम्मेदवार बन्ने तयारीमा छन्। राप्रपा र एमालेबिच निर्वाचनमा सहकार्य गर्न छलफल चलिराखेको छ।
असोज १२, २०७९ बुधबार २२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।