प्रत्यक्षमा आफ्नो समूहका नेताले टिकट नपाउने देखेपछि आन्दोलनमा शेखर समूह

प्रत्यक्षमा आफ्नो समूहका नेताले टिकट नपाउने देखेपछि आन्दोलनमा शेखर समूह

काठमाडौँ : बुधवार नेपाली कांग्रेसका शेखर कोइराला समूहका नेताहरू पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध पार्टी कार्यालय सानेपामा धर्नामा बसे। धर्नामा थिए गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी अनि  भुपेन्द्रजंग शाही लगायतका नेताहरू। उनीहरूको माग थियो समानुपातिक सूची सच्याउने।

पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक उम्मेदवारको सूचीमा आफ्नो समूहका थोरै नेताहरू मात्रै परेको खुलेसँगै शेखर समूह पार्टी नेतृत्व विरुद्ध मोर्चाबन्दीमा सक्रिय छ। त्यसैको निरन्तरता थियो बुधवारको धर्ना।

धर्ना मात्र दिएनन् कोइराला समूहका नेताहरूले। धर्ना सकेर बेलुका गुटको छलफलमा समेत सहभागी भए थप रणनीति बनाउन। उनीहरूले पार्टी नेतृत्व विरुद्ध सुरु गरेको मोर्चा बन्दीलाई ‘समान अवसर र न्यायका लागि अभियान' भनेका छन्।

समानुपातिक सूची अनुसारै प्रत्यक्षतर्फ पनि थोरै नेताहरूले मात्र टिकट पाउने जोखिम देखेपछि शेखर समूह अहिलेबाटै पार्टी नेतृत्वलाई दबाब दिन सक्रिय भएको हो। शेखर समूहका नेताहरूले गठबन्धनमा रहेका दलका नेताहरूलाई समेत चुनौती दिँदै दबाब बढाइरहेका छन्।

शेखर समूहमा रहेका प्रभावशाली नेताहरूले नै टिकट नपाउने जोखिम बढेपछि उनीहरू धम्क्याउने र थर्काउने रणनीतिमा लागेको देखिन्छ। टिकटका आकाङ्क्षी गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो क्षेत्र खोसिए चितवन आएर उनकै क्षेत्रमा उम्मेदवारी दिने चेतावनी दिइसकेका छन्। 

असोज १२, २०७९ बुधबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।