देउवालाई पत्र पठाएर केन्द्रीय सदस्यले समानुपातिक उम्मेदवार चयनमा आर्थिक चलखेल भएको भन्दै गरे छानबिनको माग

देउवालाई पत्र पठाएर केन्द्रीय सदस्यले समानुपातिक उम्मेदवार चयनमा आर्थिक चलखेल भएको भन्दै गरे छानबिनको माग

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै द सङ्घ तथा प्रदेश संसद्मा एकाघर परिवार तथा दम्पतीबाट एक जनालाई मात्र टिकट दिन माग गरेका छन्।

उनले पत्रमा कांग्रेसलाई समाप्त पार्ने षडयन्त्र सतहमा देखा परेको भन्दै पार्टीलाई समाप्त पार्न र देशलाई सङ्कटमा होम्न षडयन्त्रमूलक,, अप्राकृतिक कुकर्महरू भइरहेको उल्लेख गरेका छन्।

उनले चुनावमा कांग्रेसलाई बहुमत ल्याउन नदिने गरी तालमेल गर्ने तयारी गरेको उल्लेख गर्दै उनले प्रश्न सोधेका छन्' कांग्रेसले सय सिट भन्दा थोरैमा प्रत्यक्ष चुनाव लडेर कसरी बहुमत ल्याउन सक्छ?

आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरूलाई समानुपातिक उम्मेदवारका रूपमा प्रस्ताव गरिनुपर्ने उनको माग छ। उनले त्यस विपरीत समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थ बलले सज्जित पात्रको नाम राखिएको भन्दै पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीप्रति असहमति जनाएका छन्।

समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरूको तावेदारीहरुलाई प्राथमिकता दिइएको आरोप लगाउँदै उनले समानुपातिक सिट भनेको पत्नी तथा परिवारलाई दिइने अंश नभएको र समानुपातिक सिट भनेको आफ्नो वंशका लागि आरक्षण होइन भन्ने लेखेका छन्।

समानुपातिकतर्फ अंश, वंश र अर्थ प्रेरित उम्मेदवारहरूलाई प्रस्ताव गरिँदा त्यसको दुष्प्रभाव प्रत्यक्षमा लड्ने उम्मेदवारहरूलाई समेत पर्ने देखिने उनले पत्रमा उल्लेख गरेका छन्।

उनले  उम्मेदवार प्रस्ताव गरिएकाहरूले पार्टीभित्र जिम्मेवार पदमा आफ्नो नातागोता कोको छन् भन्ने सार्वजनिक रूपमा खुलाउने व्यवस्था गर्न,  प्रत्यक्षमा उम्मेदवार बन्ने सामर्थ्य भएका, विगतमा संसद्मा प्रतिनिधित्व गरिसकेकाहरूलाई समानुपातिकमा उम्मेदवार नबनाउन माग गरेका छन्।

जिम्मेवार पदमा बसेका नेताहरूले आफ्नो परिवार तथा वंशलाई आफ्नो व्यक्तिगत प्रभाव प्रयोग गरेर अवसर दिने दिलाउने काम नगर्ने सार्वजनिक प्रतिबद्धता गर्न, प्रस्तावित कैयन उम्मेदवारहरूले अर्थ बलमा समानुपातिकमा नाम पार्न सफल भएको भनी जनस्तरमा आक्रोश व्यक्त भइरहेको लेख्दै उनले समानुपातिक उम्मेदवार चयनमा आर्थिक चलखेल भएको सम्बन्धमा स्वतन्त्र आयोग बनाएर छानबिन गर्न माग गरेका छन्।

उनले उम्मेदवार चयन गर्दा वर्गीयतालाई आधार बनाएर समानुपातिक उम्मेदवार चयन गर्दा आर्थिक रूपमा विपन्नलाई प्राथमिकता दिन समेत माग गरेका छन्।

असोज १२, २०७९ बुधबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।