हेलाे! कालाे खसी किनियाे है!‍‍...मूल्य उतै आएर भनाैंला

हेलाे! कालाे खसी किनियाे है!‍‍...मूल्य उतै आएर भनाैंला

काठमाडौंः बुधबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसीबोका तथा च्यांग्रा बिक्रि गर्ने भनेपछि कार्यालय समयभन्दा अघिदेखि सर्वसाधारण कार्यालयको गेटअगाडि उभिएका थिए।

थापाथलीस्थित कार्यालय अगाडि विहानै खसीबोका र च्यांग्रा किन्ने भिड थियो। पहिलो दिनमै गए छानेर ल्याउन पाइन्छ भन्ने सोचले आफूहरू चाँडै आएका उनीहरूले बताए।

‘पहिलो दिन आए छानेर लैजान पाइयो,’ एक सर्वसाधारणले भने, ‘अरु दिन आए अरुले छाडेको भागमा पर्छ।’

१० बजे कार्यालय समय सुरु भएसँगै बिक्री पनि सुरु भयो। सर्वसाधारणले खसीबोाक र च्यांग्रा किने। कतिपयले किन्नेबित्तिकै घरमा फोन गरेर जानकारी पनि दिए, ‘लौ पाइयो है।’

कम्पनीले अहिले खसीबोका प्रतिकिलो ७६० र च्यांग्रा प्रतिकिलो १ हजार २५० रूपैयाँ किलोमा बेचिरहेको छ। पहिलो दिन भएर १० बजेदेखि बिक्रि सुरु भए पनि भोलिदेखि विहान ८ बजे देखि नै सुरु गरिने कम्पनीले जनाएको छ।

खाद्यका अनुसार खसी–बोका दाङ, हेटौंडा र धादिङबाट ल्याइएको हो भने च्याङ्ग्रा भने दार्चुलाबाट झिकाइएको हो। अहिले ५९० वटा खसी–बोका र २०० वटा च्याङ्ग्रा बिक्रिका लागि राखिएको छ भने बाँकी आउने क्रममा छ।

यसपाली दशैंमा १८ सय खसी–बोका तथा ५०० च्याङ्ग्रा बेच्ने खाद्य कम्पनीको लक्ष्य छ।

असोज १२, २०७९ बुधबार १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।