निर्वाचन आचारसंहित लागू : शिलान्यास र उद्घाटनमा रोक, २५ जनाभन्दा बढी घरदैलोमा जान नपाइने (अरु के–के?)

काठमाडौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि बुधरबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।
आयोगले एक महिनाअघि राजपत्रमा प्रकाशित गरेको आचारसंहिता कार्यान्वयनमा ल्याउँदै उम्मेदवारहरूलाई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि १५ दिन मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ।
आयोगले कार्यान्वयनमा ल्याएको आचारसंहितामा २५ जनाभन्दा बढीको समूहमा घरदैलो र उम्मेदजारको मनोनयन दर्ता गर्न जान रोक लगाइएको छ।
योसँगै नियमित वार्षिक बजेटमा परेका कार्यक्रमबाहेक नयाँ कार्यक्रम घोषणा गर्न पाइँदैन भने उद्घाटन शिलान्यास र सर्वेक्षण गर्न पनि पाइने छैन। त्यस्तै राजनीतिक नियुक्ति, सरुवा तथा बढुवा गर्न पनि रोक लगाइएको छ।
विहान ७ बजेदेखि साँझा ७ बजेसम्म प्रचारप्रसारमा रोक लगाएको आयोगले र्याली वा सभा गर्दा १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न समेत रोक लगाएको छ।
यस्तै, कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न भएका ज्याकेट, भेस्ट, मास्क वा टोपी लगायतका सामग्री प्रदर्शन गर्न पाइने छैन भने सामाजिक सञ्जालमा झूटा अकाउन्ट वा झूटा वेबसाइट खोल्न रोक लगाउनुका साथै भ्रामक सूचना प्रसार गर्न पनि सर्वसाधारणलाई रोक लगाएको छ।
यसैबीच उम्मेदवारहरूले स्थानीय प्रशासनको अनुमति लिई नियमानुसार जुलुस, आमसभा र प्रचारप्रसार गर्न, अनुमति लिई दुईवटा सवारीसाधन वा चारवटा घोडा प्रचारप्रसारमा प्रयोग गर्न, निजी सञ्चारमाध्यमबाट नियमानुसार प्रचारप्रसार गर्न र बैंक तथा वित्तीय संस्थामा खाता खोली आर्थिक सहयोग लिन आयोगले स्वीकृति दिएको छ।
त्यस्तै, निर्वाचन चिह्न भएको पहिरन, मास्क लगाउन वा झोला बोक्न, अर्को दलको प्रचारप्रसारमा अवरोध पुर्याउन, अनुमति नलिई निजी सम्पत्तिमा प्रचार सामग्री राख्न र सार्वजनिक स्थानमा प्रचार सामग्री राख्न, क्लब, सामाजिक संस्था, तथा समूहलाई चन्दा, पुरस्कार वा अनुदान दिन, दलको कार्यालय बाहेकमा स्थानमा माइकिङ गर्न वा श्रव्य सामग्री बजाउन, विद्यालय लगायतका सार्वजनिक स्थलमा निर्वाचन लक्षित भेलाहरू गर्न, गाडी वा मोटरसाइकल र्याली आयोजना गर्न पनि आयोगले रोक लगाएको छ।
निर्वाचन आचारसंहिता लागु भएपछि सङ्घ तथा प्रदेशका मन्त्री र स्थानीय तहका अधिकारीहरूले आफू उम्मेदवार भएको बाहेकका अवस्थामा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने आयोगले जनाएको छ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी दिने सबै उम्मेदवारहरूले आफ्नो सम्पत्ति विवरण पनि आयोगमा बुझाउनुपर्ने व्यवस्था आचारसंहितामा गरेको छ। यस्तो सम्पत्ति विवरण निर्वाचन परिणाम नआएसम्म गोप्य र सुरक्षित राखिने र निर्वाचित भएका उम्मेदवारहरूको मात्र सम्पत्ति विवरण सार्वजनिक गरिने आचारसंहितामा उल्लेख छ।
असोज १२, २०७९ बुधबार ०८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।