सल्यानमा जिप दुर्घटना, एकै परिवारका पाँचसहित आठ जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना, एकै परिवारका पाँचसहित आठ जनाको मृत्यु

काठमाडौंः सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ मुलपानीमा विहान ३ बजे रा १ ज ५६३ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा जीप चालक कपुरकोट गाउँपालिका–६ जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर वली, उनका ११ वर्षीय छोरा बसन्त, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी वली र ३५ वर्षीय ललित वलीको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

गम्भीर घाइते कपुरकोट गाउँपालिका–६ जलवाङकै ३५ वर्षीय तिलक वलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको खनालले बताए।

विवाहमा भएर फर्कँदै गर्दा जिप दुर्घटनामा परेको हो। ९ जना सवार जिपमा एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन्। वली थर भएका सबै एकै परिवारका हुन्।

असोज १२, २०७९ बुधबार ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।