दशैंको तेस्राे दिन : चन्द्रघण्टा देवीको पूजा गरिँदै

दशैंको तेस्राे दिन : चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौंः बडादशैंको तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ।

चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो।

सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ।

विधिपूर्वक उनको आराधना गर्नाले सबै किसिमका बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ।

नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ।

पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो।

आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरिएको घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ।

यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ।

असोज १२, २०७९ बुधबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।