हिमपहिरोमा परी मृत्यु भएका राईको शव हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौंः उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा काठमाडौं ल्याइएको छ।
मौसममा सुधार आएपछि राईको शव हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। राईको शव खोँचमा रहेको र त्यसलाई निकाल्न दिनभर प्रयास गरिएको उनले बताए।
राईको शव सामागाउँ ल्याई मुचुल्का तयार पारेर काठमाडौं पठाइएको लामिछानेले बताए। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
मनास्लु आधार शिविरमा सोमबार गएको हिमपहिरामा परेर १३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये १२ जनाको सकुशल उद्धार गरिएको थियो भने राईलाई बचाउन सकिएको थिएन।
असोज ११, २०७९ मंगलबार २१:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।