ह्याट्रिकपछि भावुक हुँदै अञ्जन भन्छन्– ‘...त्यो विषय सम्झिन पनि चाहँदिन’

काठमाडौंः बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेपछि स्ट्राइकर अञ्जन विष्टले देशका लागि जस्तोसुकै अवस्थामा पनि खेल्ने बताएका छन्।
खेलपछिको पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘धेरैपछि राष्ट्रको झण्डा छातीमा लगाएर खेल्न पाउँदा खुसी छु। आफ्नो स्वार्थका लागि मैले कहिल्यै खेलिन, देशका लागि जस्तोसुकै परिस्थितिमा पनि खेल्छु।’
गला अवरुद्ध पार्दै विष्टले आफूले सरकारले दिने सेवासुविधामा गुनासाे नगरेकाे भन्दै खेल्ने वातवरण बनाइदिन मात्र आग्रह गरेकाे बताए। उनले आफ्नो लागि स्कोर गर्नका लागि भन्दा पनि टिमको जितको लागि जहिले पनि खेल्ने बताए।
‘यति गोल गर्छु भन्दा पनि देशको जितका लागि सधैँ खेल्नेछु,’ उनले भने, ‘सबैभन्दा मुख्य कुरा भनेको जित हो, हामी जितका लागि खेल्छौं।’
विष्टले यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हटाएको प्रसङ्ग सम्झन नचाहने भन्दै जीवनमा आउने उतारचढावको एउटा पाटोको रूपमा यसलाई लिएको बताए। यस्ता घटनाले मानिसलाई बलियाे बनाउने उनकाे भनाइ छ।
उनले थपे, ‘विगतमा के भयो म त्याे कुरा सम्झिन चाहँदिन तर त्यस्तो अवस्थाले मानिसलाई थप बलियो पनि बनाउने रहेछ।’
असोज ११, २०७९ मंगलबार २०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।