चुनावलाई लडाईंको रूपमा लिन कार्यकर्तालाई पोखरेलको निर्देशन

काठमाडौंः एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रूपमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरूलाई सम्बोधन गर्दै उहाँले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताए।
‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन, यसपटकको निर्वाचन लडाईंको रूपमा हाम्रो अगाडि छ, जुन लडाईं हामीले जित्नैपर्छ,’ उनले भने, ‘जित्नैपर्ने लडाईंको रूपमा हामी यो निर्वाचनमा छौं।’
गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य नभएको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गरे।
‘गठबन्धनको उद्देश्य एमालेलाई समाप्त पार्ने मात्रै हो,’ उनले भने, ‘गठबन्धनको आपराधिक षडयन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने दाबी गरे। उनले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउने जिकिर गरे।
पोखरेलले उमेरले युवा र बुढो नहुने भन्दै पार्टी अध्यक्ष ओलीले गर्ने काम कुनै तन्नेरीको भन्दा कम नरहेको बताए।
‘केपी ओलीले अघि सारेका विचार र काम कुनै पनि तन्नेरीका भन्दा कम छैन,’ उनले भने, ‘उहाँले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन्।’
असोज ११, २०७९ मंगलबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।