इतर पक्षको खबरदारीपछि कांग्रेसले सच्याउने भयो समानुपातिकको बन्दसूची

इतर पक्षको खबरदारीपछि कांग्रेसले सच्याउने भयो समानुपातिकको बन्दसूची

काठमाडौंः नेपाली कांग्रेसको संस्थापन पक्षले समानुपातिक तर्फको बन्दसूचीको त्रुटी सच्याउने भएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्दै समानुपातिकको सूची सच्याउने बताएका हुन्।

‘निर्वाचन आयोगले लिएको मितिभित्रै समानुपातिकको सूचीमा भएको त्रुटी सच्याइन्छ,’ उनले भने, ‘हामीहरूबीच सहमतिपछि मात्र सूची पेश गरिएकाे छ, प्राविधिक त्रुटी भए केही सच्याइन्छ।’

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची बुझाउँदा आफूहरूलाई अन्याय भएको भन्दै इतर पक्षले खबरदारी सभा गरेको दुई दिनपछि संस्थापन पक्षले यस्तो बताएको हो।

डा. महतले पार्टीभित्र धेरै चाहना भएकाहरू भए पनि सबैको चाहना पूरा गर्न नसकिने भएकाले सबैले मिलेर अगाडि जानुको विकल्प नरहेको बताए।

उनले सबैसँग सहमति गरेर मात्रै समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाइएको भन्दै एकलौटी गरिएको विषयमा सत्यता नभएको जिकिर गरे।

संस्थापन इतर पक्षले समानुपातिक बन्दसूचीमा एकलौटी तवरले नाम राखिएको भन्दै खबरदारी र आक्रोश पोख्दै आएका छन्।

उनीहरूले पार्टीभित्र आफूहरूले ४० प्रतिशत पाउनुपर्ने र नपाएको अवस्थमा हरेक क्षेत्रमा बागी उम्मेदवार उठाउने चुनौती दिएको थियो।

 

असोज ११, २०७९ मंगलबार १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।