बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

एजेन्सी: बङ्गलादेशमा गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ पुगेको छ। बङ्गलादेशको राजधानी ढाकाबाट ४६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो।
त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बताइएको छ। डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताइएको छ।
बङ्गलादेशी अधिकारीहरूले सोमबार रातिसम्म यहाँ थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको बताएका हुन्।
स्थानीय सञ्चारमाध्यमहरूले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए। हाल भने दुर्घटनामा परेर हराएका व्यक्तिको शव भेटिँदै गएको छ।
सो डुङ्गामा एक सय जनाजति यात्रु रहेका बताइएको थियो। अहिले पनि डुङ्गामा रहेका केही व्यक्ति हराइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले बताए।
प्रहरीले डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर दुर्घटना हुन पुगेको बताएको छ।
असोज ११, २०७९ मंगलबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।