मनास्लुको हिमपहिरोमा परी एक जनाको मृत्यु, १० जनाको सकुशल उद्धार

मनास्लुको हिमपहिरोमा परी एक जनाको मृत्यु, १० जनाको सकुशल उद्धार

गोरखा: उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले बताए।

हाल मृतक राईको शव आधार शिविरबाट काठमाडौंको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको प्रहरी उपरीक्षक खनालले बताए।

यस्तै हिमपहिरोमा परेका अन्य १० जनाको भने सकुशल उद्वार गरिएको खनालले जानकारी दिए। सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप ६ जनाको आज बिहान उद्धार गरिएको उनले बताए।

आज बिहानैदेखि हेलिकप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरोमा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको छ। “सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौं पठाइएको छ”, खनालले भने, “उनीहरूको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ।”

हिमपहिरोमा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरू आधार शिविरमा नै बसेर काम गरिरहेको उनले बताए।

हिमपहिरामा परेकाहरूको उद्वारका लागि आज बिहान सिम्रिक एयरको दुई वटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकप्टर परिचालन गरिएको थियो।

असोज ११, २०७९ मंगलबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।