नेपाल-भारत सीमा बैठकमा कालापानी विषय उठ्ला ?

नेपाल-भारत सीमा बैठकमा कालापानी विषय उठ्ला ?

काठमाडौँ : भारतीय नागरिक नेपाल प्रवेश गरेर नेपाली नागरिकको हत्या भएको एक सातामै काठमाडौँमा नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ बस्दै छ। मङ्गलवार(आज)बाट सुरु हुने बैठक आकस्मिक नभएर पूर्व निर्धारित हो।

मङ्गलवारदेखि सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा हुने बैठकमा भारतको तर्फबाट सशस्त्र सीमा सुरक्षा बलको प्रमुख सुजोय लाल थाउसेनले नेतृत्व गरेका छन्।

दुई दिनसम्म चल्ने बैठकमा नेपालको नेतृत्व सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले गर्नेछन्। बैठकमा सीमासँग जोडिने नापी, गृह र परराष्ट्रका प्रतिनिधि सहभागी हुनेछन्।

भारतमा सीमा सुरक्षामा एसएसबी र नेपालमा एपिएफ खटिँदै आएका छन्। बैठकमा सीमा विवाद, तस्करी नियन्त्रण, सीमा वारपार हुने आपराधिक घटना नियन्त्रणको विषय उठ्दै छ।

हरेक बैठकमा भारतीय पक्षले नेपाली सीमाबाट भारतमा हुने आपराधिक घुसपैठ, सीमा क्षेत्रमा बढ्दो मदरसा, सीमा लगायतका विषय उठाउने गरेको छ।

नेपालले हरेक बैठकमा सीमा समस्यालाई प्राथमिकता दिने गरेको छ। लागुऔषध तस्करी, सीमा आवात जावत समस्या, मानव तस्करी र आपराधिक गतिविधिलाई नेपालले प्राथमिकतामा राख्दै आएको छ। कालापानी लगायतका भारतबाट अतिक्रमित नेपाली भू भागबारे नेपालले यस्ता बैठकमा आफ्नो बलियो तर्क राख्न सकेको देखिँदैन।

भारतीय तस्कर समूहले नेपाली सुरक्षाकर्मी माथि गर्ने अवरोध, खुल्ला आवतजावतमा एसएसबीले गर्ने अवरोध, सीमामा नेपाली लुटिने लगायतका समस्या समेत छन्।

भारतले हरेक बैठकमा खुल्ला सिमानामार्फत हुने भारत विरोधी गतिविधिलाई मुख्य विषय बनाउने गरेको छ।

गत वर्ष यो बैठक भारतको दिल्लीमा बसेको थियो। नेपाल त भारतबिचको करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइको खुला  सिमाना रहेको छ।

असोज ११, २०७९ मंगलबार ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।