बागमती प्रदेश प्रहरीले स्थापना गर्याे ५२ वटा यात्रु सहायता कक्ष, काभ्रेमा सबैभन्दा बढी
काठमाडौं: बागमती प्रदेश प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरूप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
चाडपर्वको समयमा बढि भिडभाड हुने तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने कुरालाई मध्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लामा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।
बागमती प्रदेश अन्तर्गतका व्यस्त बसपार्क तथा बढि भिडभाड र आवतजावत हुने स्थानहरूमा ट्राफिक प्रहरी सहितको सहायता कक्ष स्थापना गरिएको हो।
जस अन्तर्गत मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक सञ्चालनमा ल्याइएको रेग्मीले बताए।
स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरी सहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४औं घण्टा प्रहरी परिचालन गरिएको छ ।
यात्रा गर्दा तथा आफूलाई कुनै समस्या पर्न गएमा तत्काल यात्रु तथा नागरिक सहायता कक्षमा सम्पर्क राखी सोधपुछ गरी आफ्नो समस्या समाधान गर्नसमेत कार्यालयले अनुरोध गरेको छ।
असोज १०, २०७९ सोमबार १४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।