शहरी विकासमन्त्री चौधरीले भने, 'भागवान् रामसँग जोडिएको ठोरीको विकासमा जुटौँ'

शहरी विकासमन्त्री चौधरीले भने, 'भागवान् रामसँग जोडिएको ठोरीको विकासमा जुटौँ'

पर्सा: शहरी विकासमन्त्री मेटमणि चौधरीले पर्साको ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने बताएका छन्। ठोरी गाउँपालिकामा सघन शहरी कार्यक्रमअन्तर्गत शहरी पूर्वाधार निर्माण कार्यक्रमका लागि करिब १० करोडका आयोजनाहरूको शिलान्यास गर्दै आइतबार मन्त्री चौधरीले उक्त कुरा बताएका हुन्।

‘भगवान् रामसँग जोडिएको ठोरीको समग्र विकासमा सबै जुटौँ। यस्तो ऐतिहासिक ठाउँको बृहत्तर विकास गर्ने सवालमा यो दल त्यो दल नभनौँ। यसो गर्न सकिएमा हिन्दू धर्मावलम्बीहरूको घुँइचो लाग्नेछ। धार्मिक पर्यटनको राम्रो गन्तव्य बन्ने निश्चित छ’, मन्त्री चौधरीको भनाइ थियो।

ठोरीलाई चिनाउन, ठोरीको प्रचार गर्न र विकासका आयोजनाहरू निर्माणको पहल गर्न ठोरी आएको बताउँदै मन्त्री चौधरीले जननिर्वाचित प्रतिनिधिहरूले सबैलाई समेटेर नेतृत्त्व गर्न आग्रह समेत गरेका थिए। ठोरी माधव ताल, पञ्चेश्वर धाम, ठोरी बजार पूर्वाधार निर्माण, विजय बस्ती सभा हाल, सरस्वती मावि भवन निर्माण, सडक विस्तार, पिच तथा ढलानलगायत दर्जनौँ आयोजनाहरूको शिलान्यास कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सह सचिव पद्म कुमार मैनाली, ठोरी गाउँ पालिकाका अध्यक्ष लालबाबु श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, एकीकृत समाजवादी पर्साका कार्यबाहक अध्यक्ष गंगा बहादुर खड्का, मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बृजलाल पासवान, पर्सा जिल्ला अध्यक्ष मनोज पटेल लगायतले मन्तव्य राखेका थिए।  

असोज १०, २०७९ सोमबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।