प्रधानमन्त्रीको रेसमा छैन; लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा पहिलो प्राथमिकताः प्रचण्ड

प्रधानमन्त्रीको रेसमा छैन; लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा पहिलो प्राथमिकताः प्रचण्ड

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको ‘रेस’मा नरहेको बताएका छन्। प्रेस सेन्टर नेपालले आज चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए।

आर्थिक विकास र समृद्धि आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, “चाहेको भए विसं २०७४ को निर्वाचनपछि पाँच वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो।”

उनले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासको वातावरण बनाउने र आफूलाई त्यसका निम्ति समर्पित गर्ने प्रतिबद्धता रहेको बताए। आउँदो समय समृद्धिको दशक भएको भन्दै उनले अबको क्रान्ति आर्थिक हुनुपर्ने बताए।

उनले भने, “जीवनको उत्तरार्धको बाँकी समय आर्थिक समृद्धि र क्रान्तिका लागि लाग्छु।” अर्बौँका परियोजना कसरी नेपाल ल्याउन सकिन्छ र नेपालमा भएका प्राकृतिक साधन स्रोतको सही उपयोग गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको उनको भनाइ थियो। उनले भने, “एउटा नयाँ क्रान्ति समाजवादका निम्ति, सामाजिक न्यायका लागि गर्ने परिकल्पना गरिएको छ।”

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ज्येष्ठ पत्रकारका लागि कल्याणकारी कोष, नेपाल पत्रकार महासङ्घको भौतिक पूर्वाधारमा सहयोग, तालिम केन्द्रका लागि जमिन, लोककल्याणकारी विज्ञापन, लेखन वृद्धिका लागि बजेट लगायतमा महानगरले सहकार्य गरेको बताइन्।

असोज १०, २०७९ सोमबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।