गोरखा दरबारको दशैंघरमा विधिपूर्वक जमरा राखियो

गोरखा दरबारको दशैंघरमा विधिपूर्वक जमरा राखियो

गोरखा: गोरखा दरबारको कालिका मन्दिरमा रहेको दशैंघरमा आज विधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैंघरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। 

परम्पराअनुसार सबेरै देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए।

मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलाश कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए।

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरूले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ। बडादशैंमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ।

प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ। यसैगरी गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इसान थापाले जानकारी दिए।

मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए। परम्पराअनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताए। गणेश र कलश स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ थियो।

असोज १०, २०७९ सोमबार १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।