आजबाट रुट परमिट खुला

आजबाट रुट परमिट खुला

काठमाडौं: दशैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुनेगरी रुट परमिट खुला गरेको छ। दशैंको पूर्णिमा (असोज २३ गते)सम्मका लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो।

यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ।

दशैंका समयमा बर्सेनि काठमाडौं उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताए।

सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने उनले बताए। अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीस चक्के सवारीसाधन चल्न पाउने छैनन्। यी सवारीलाई विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ। 

असोज १०, २०७९ सोमबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।