दशैं आयो: आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं: नेपालीहरूको महान् चाड दशैं आजबाट सुरु भएको छ। आज नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना हो।
आजको दिन घरघरमा घटस्थापना गर्ने अर्थात् जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्ने चलन छ।
घरको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ। नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो। गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ।
शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रूपमा पूजा आराधना गरिन्छ।
हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उनको पुत्रीका रूपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ। आज घटस्थापनासँगै काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।
असोज १०, २०७९ सोमबार ०७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।