मंसिर ४ मा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ : सरकारले निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपति कार्यालयमा पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै मंसिर ४ मा सेना परिचालन गर्ने कानुनी बाटो खुलेको छ।
गृह मन्त्रालयले चुनाव लक्षित गरेर सेनासहितको ‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ बनाएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गृहले नै परिचालन गर्ने भए पनि सेना परिचालनको निर्णय भने राष्ट्रपतिबाट स्वीकृत नभई सम्भव हुन्न।
आइतबार उनले सुरक्षा निकायहरूबिच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने काममा सेना खटिन स्वीकृत गरेकी हुन्। राष्ट्रिय सुरक्षा परिषद्को भदौ १७ को बैठकले मंसिर ४ को सुरक्षामा सेना समेत परिचालन गर्न सिफारिस गरेको थियो।
राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘मन्त्रिपरिषद्को मिति २०७९/०५/२२ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति मिति २०७९/०५/२७ को पत्रका आधारमा सम्व्त २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२)बमोजिम स्वीकृति प्रदान गर्नुभएको’ उल्लेख छ।
निर्वाचनमा लङ रेन्जको पेट्रोलिङ, जेल लगायतका महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा र विमानस्थलको सुरक्षाको जिम्मा सेनाले लिएर त्यहाँ रहेका अन्य सुरक्षा जनशक्ति निर्वाचन केन्द्रित गराउन सघाउँदै आएको छ।
असोज ९, २०७९ आइतबार १७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।