सर्वोच्चले राष्ट्रपति कार्यालयलाई सोध्यो : नागरिकता विधेयक किन जारी नभएको कारण दिनु !

काठमाडौँ : सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा राष्ट्रपति कार्यालयको नाममा करण देखाऊ आदेश जारी गरेको छ। आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दोस्रो पटक नागरिकता विधेयक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाए पनि संवैधानिक व्यवस्था अनुसार १५ दिन काटे पनि जारी भएन।
असोज ४ गतेभित्र जारी हुनुपर्ने विधेयक जारी नभएपछि सर्वोच्चमा ५ वटा रिट परेको थियो। राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न माग गरिएको रिटमा आइतबार सुनुवाइ भएको हो।
अधिवक्ता सुनिल रञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सागर बराल, देव शर्मा र सोनु रौनियारले नागरिकता विधेयक प्रमाणीकरण माग गर्दै सर्वोच्चमा रिट दिएका थिए।
असोज ९, २०७९ आइतबार १४:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।