अवकास प्राप्त समायोजित सेनालाई निर्वाचन लड्न दिन प्रचण्ड तयार

अवकास प्राप्त समायोजित सेनालाई निर्वाचन लड्न दिन प्रचण्ड तयार
फाइल तस्बिर

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्। अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले आफू माग सम्बोधन गर्न तयार रहेको बताएका हुन्।

उनले भने, “उहाँहरूको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो। यसमा मैले सङ्गठनमा बस्न मिल्छ। निर्वाचन लड्न पनि मिल्छ भनेको छु।”

कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरूको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए। तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन्।

पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन आएका प्रचण्ड दुई दिन चितवन बस्ने कार्यक्रम छ।

प्रचण्डले आज माछा व्यवसायीसँग समेत भेट गरेका छन्। नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्षसहितको टोलीलाई भेट्दै उनले माछा व्यवसायीहरूको माग सम्बोधन गर्न राज्य लाग्ने बताए। उनले भने, “नीति निर्माणको काम सम्पन्न भएको छ। कार्यान्वयनमा नजाँदा समस्या आएको हो।”

माछा व्यवसायीले भन्सार छली आएका माछाका कारण स्वदेशी माछाले बजार पाउन नसकेको गुनासो गरेका थिए। सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले भारतबाट आयातित अस्वस्थकर माछा नियन्त्रण गर्नुपर्ने बताए।

असोज ९, २०७९ आइतबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।