कार्यकारी पदमा रहेर काम गर्ने इच्छा छ: रामचन्द्र पौडेल

कार्यकारी पदमा रहेर काम गर्ने इच्छा छ: रामचन्द्र पौडेल

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएका छन्। तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा नेता पौडेलले देशको नेतृत्त्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन्।

उनले भने, “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ।” पौडेलले आफू मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले सहयोग गर्न पनि आग्रह गरे।

वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई आफ्नो आवश्यकता छ भनेको पनि सुनाए।

उनले गठबन्धन देशको आवश्यकता रहेको पनि बताए। यस्तै संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेको पनि प्रष्ट पारे।

यता नेता पौडेलले राजनीतिक कुरा गरे पनि छलफलमा सहभागी व्यवसायीले भने जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराए।

जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए।

असोज ९, २०७९ आइतबार ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।