काठमाडौंबाट एकैदिन मापसे गरेर सवारी चलाउने २२३ र फुटपाथमा पार्किङ गर्ने २०२ चालक कारबाहीमा

काठमाडौं: ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ३३५ जना चालकहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले हिजो कारबाही गरेको छ।
मदिरा पिएर सवारी साधन चलाउने २२३ जना, फुटपाथमा पार्किङ गर्ने २०२ जना, तीव्र गतिमा सवारी साधन चलाउने १८९ जना कारबाहीमा परेका हुन्। यस्तै, हर्नको अनावश्यक प्रयोग गर्ने १७४ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १२८ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १०६ जना, ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका १०३ जना पनि कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले रातो बत्तीको उल्लङ्घन गर्ने ८५ जना, एकतर्फी सडकमा सोविपरीत चलाउने ६९ जना, क्षमताभन्दा बढी यात्रु राख्ने ४४ जना र सडक लेन उल्लङ्घन गर्ने ४३ जना चालकहरूलाई पनि कारबाही गरेको छ।
असोज ९, २०७९ आइतबार ११:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।