भाइलाई कुटेको बदला लिन खुकुरी, ढुङ्गा प्रहार गरेर गुरुङको हत्या, नौ जना पक्राउ

काठमाडौं: इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर एवा, नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ र परशु राई रहेका छन्। उनीहरूले प्रहरीसमक्ष गुरुङलाई कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।
यही असोज ५ गते साँझ दमक र चुलाचुली जोड्ने रतुवा पुल नजिकै १०–१२ जनाको समूहले खुकुरी, ढुङ्गा, प्रहार गरी गुरुङलाई गम्भीर घाइते बनाएका थिए। घाइते गुरुङको अस्पताल लाँदा बाटामै मृत्यु भएको थियो।
घटनामा प्रयोग भएको खुकुरी र ढुङ्गासहित प्रहरीले पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो।
प्रहरी उपरीक्षक दिलीप घिमिरेले नौ जनाबाहेक अन्यको खोजी भइरहेको बताए। आपसी लेनदेन र कुटपिटको रिसइबीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतक गुरुङ समेत विगतमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको बताइएको छ।
यस्तै घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना भएको तीन दिनअगाडि मृतक गुरुङले घटनामा संलग्न टीका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र त्यसैको बदला लिन कुटपिट गरी मार्नेसम्मको योजना बनाएको खुल्न आएको छ।
असोज ९, २०७९ आइतबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।