राजनीतिक दलहरू असफल भए, जनताले विकल्प खोज्न थाले: शहरी विकासमन्त्री चौधरी

राजनीतिक दलहरू असफल भए, जनताले विकल्प खोज्न थाले: शहरी विकासमन्त्री चौधरी

दोलखा: शहरी विकासमन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने बताएका छन्। थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।

उनले भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रङ्गको मान्छे, एउटा ड्रेसको मान्छे अथवा जेठो छोरोले अथवा एउटा वंशले देश चलाउँथ्यो। तर अहिले समय निकै बदलिसकेको छ। अबको दुनियाँमा आपसमा लडाएर, जातीय कुरा गरेर, समाजलाई विभाजित गरेर कोही पनि नेता, सांसद वा मन्त्री बन्न सक्दैन। नेता बन्न त समाजका मुद्दा, समाजका समस्या बोक्नुपर्छ।’

सीमान्तकृत जनजातिहरूलाई राज्यको मूलधारमा ल्याउन जरुरी रहेको बताउँदै मन्त्री चौधरीले दलहरूलाई गाली गरेर, नेतालाई गाली गरेर, दाजुभाइमा झगडा गरेर वा विभाजित भएर समस्या हल नहुने बताए।

‘राजनीतिक दलहरू असफल भए। तिनका विचार, तिनका दृष्टिकोण कमजोर भए। अब पुराना दलहरूले जनताको समस्या हल गर्न सक्दैनन्। त्यसैकारणले जनताले आज विकल्प खोज्न थालेका छन्। फराकिलो सोच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेताको खाँचो रहेको छ’, मन्त्री चौधरीले भने।

सरकारले नागरिकता नभएका लाखौँ जनताका समस्या हल गर्न नागरिकता विधेयक ल्याएको तर विविध कारणले अड्किएको बताउँदै मन्त्री चौधरीले उक्त विषय अदालत प्रवेश गरेकाले छिट्टै जनताको पक्षमा फैसला हुने आशा व्यक्त गरे।

पूर्वमन्त्री पार्वत गुरुङले थामी जातीलाई अघि बढाउन सधैँ लागिपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न व्यक्तिहरूले आआफ्ना धारणा राखेका थिए।

असोज ९, २०७९ आइतबार ०८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।