देशकै ठूलो सामुदायिक वनको निर्वाचनमा पौडेल विजयी

बुटवल: नेपालकै ठूलो रुपन्देहीको बुटवलस्थित चारापाला सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्त्वको लागि शुक्रबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका जगतनाथ पौडेल निर्वाचित भएका छन्। सामुदायिक वनको नवौं अधिवेशनमा एमालेको प्यानल नै विजयी भएको हो।
सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार घनश्याम चालिसेलाई पाँच मतले पराजित गर्दै अध्यक्षमा पौडेल निर्वाचित भए। पौडेलले १६४ ल्याउँदा चालिसेले १५९ मत ल्याए। त्यसैगरी उपाध्यक्षमा रामकुमार १५७ मतका साथ विजयी भएका छन्।
सचिवमा दुर्गा पाठक पाण्डे १५८ मतका साथ विजयी भए। सहसचिवमा कमलप्रसाद अधिकारी १४३ मतले निर्वाचित हुँदा कोषाध्यक्षमा राजु गौडेल १५५ मतले निर्वाचित भए। मुख्य निर्वाचन अधिकृत प्रकाशमणि खनालका अनुसार सदस्यमा कुलबहादुर विक, नरबहादुर विक, पुनम थापा राई, कल्पना आचार्य र धनकुमारी थारू निर्वाचित भए।
लेखा समितिको संयोजकमा चुडामणि पौडेल र सदस्यहरू कृष्णप्रसाद घिमिरे, राधा घिमिरे र सीता कुँवर विजयी भए। राधा र सीताको मत बराबर आएको थियो।
न्यायिक समिति संयोजकमा पूर्णप्रसाद काफ्ले तथा सदस्यमा जगबहादुर थारु र देवी न्यौपाने विजयी भएका छन्। १४ हजार उपभोक्ताबाट १६ उपसमितिअन्तर्गत छनोट भएका ३३६ जना परिषद् सदस्यले मतदान गरेका थिए। जसमा ३३३ मत खसेको थियो।
नवनिर्वाचित अध्यक्ष पौडेलले वन संरक्षणसँगै गरिबी निवारण आफ्नो प्राथामिकता रहेको बताए। वनको क्षेत्रफल एक हजार १० हेक्टर रहेको छ।
असोज ९, २०७९ आइतबार ०८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।