मोटरसाइकल चोर्ने रसुवाका १९ वर्षीय विजय पक्राउ

मोटरसाइकल चोर्ने रसुवाका १९ वर्षीय विजय पक्राउ

काठमाडौं: ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका–२६ गोङ्गबुबाट हराएको मोटरसाइकलसहित रसुवा नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौंको टोखा बस्ने १९ वर्षीय विजय तामाङलाई शनिबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाएको अवस्थामा तामाङलाई पक्राउ गरिएको जानकारी दिए। हराएको वास्तविक नम्बर बागमती प्रदेश-०२–०२८प ७७८५  भए पनि उक्त नम्बर परिवर्तन गरी बा९०प ९०९२ बनाएर चलाएको अनुसन्धानमा खुलेको छ।

उक्त पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भई हाल काठमाडौंको हात्तीगौंडा बस्दै आएका पहलकुमार मगरको रहेको खुलेको छ।

भदौ १८ गते हराएको मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

असोज ९, २०७९ आइतबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।